logo
२०८३ कार्तिक ११, मंगलबार |
☰
📰
🔍
✕

सहकारी पीडितको रकम फिर्ताका लागि अदालतमा छुट्टै बेन्च र प्रहरीमा विशेष डेस्क बनाइने

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
सहकारी पीडितको रकम फिर्ताका लागि अदालतमा छुट्टै बेन्च र प्रहरीमा विशेष डेस्क बनाइने

चितवन / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितको गुनासो सुनुवाइ र मुद्दाको शीघ्र निरुपणका लागि प्रहरीमा छुट्टै डेस्क तथा अदालतमा विशेष बेन्च स्थापना गर्न पहल गरिने बताउनुभएको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा सहकारी पीडितका गुनासा सुन्दै मन्त्री रावलले सहकारीसम्बन्धी मुद्दाको चाप भएका स्थानमा विशेष व्यवस्था गर्न प्रधानन्यायाधीशसँग छलफल भएको जानकारी दिनुभयो।

कार्यक्रममा ८४ वर्षीय पूर्वप्राध्यापक विष्णुप्रसाद सापकोटासहित विभिन्न सहकारीका पीडितले बचत रकम फिर्ता नपाएको पीडा सुनाएका थिए। सापकोटाले शिवशिखर सहकारीमा परिवारको रु तीन करोड ५० लाख फिर्ता हुन नसकेको गुनासो गर्नुभएको थियो।

मन्त्री रावलले पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै विदेशमा लगानी गरिएको रकम फिर्ता ल्याउन आवश्यक कानुन निर्माण र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।