प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक ११, मंगलबार
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदाता तथा परिवारलाई पुनः जोड्न विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ।
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आज आयोजना गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता त्यागेर सबैलाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
सभापति थापाले प्रतिस्पर्धामा पछि परेका योग्य नेताहरूलाई समेत उचित स्थान दिनुपर्ने उल्लेख गर्दै पार्टीभित्र जित्नेले सबै पाउने र हार्ने बाहिरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो।
कांग्रेसमा २० देखि ८० वर्षसम्मका चार पुस्ता सक्रिय रहनु पार्टीको महत्वपूर्ण पुँजी भएको उहाँको भनाइ थियो। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गर्दै जनतामाझ जानुपर्ने उहाँले बताउनुभयो।
पार्टीलाई मत नदिएका मतदातालाई गाली गर्नुभन्दा उनीहरूको घरमै पुगेर गुनासा सुन्न र प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसबाट टाढिएका मतदातासँग सम्बन्ध सुधार गर्नुपर्ने बताउनुभयो।