प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ५२ मिनेट अघि
काठमाडौँ / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच जातीय भेदभाव तथा छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षणका विषयमा छलफल भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको हो।
छलफलमा जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने, पीडितलाई संरक्षण प्रदान गर्ने र उजुरीको शीघ्र सम्बोधन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय बनाउने तथा प्रहरी कर्मचारीलाई पीडितमैत्री व्यवहार र कानुनी व्यवस्थाबारे नियमित तालिम दिने आवश्यकतासमेत औँल्याइएको थियो।
त्यसैगरी, महिला तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार नियन्त्रण, जोखिममा रहेका बालबालिकाको संरक्षण तथा पुनर्स्थापना र मानव बेचबिखनको जोखिम न्यूनीकरणका विषयमा पनि छलफल भएको थियो। सीमा क्षेत्रमा निगरानी बढाउने र स्थानीय तह तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयसमेत उठाइएको थियो।
भेटवार्तामा मन्त्रालय र नेपाल प्रहरीबीच सहकार्य बढाउँदै जातीय विभेदविरुद्ध प्रभावकारी कानुनी कारबाही, हिंसापीडितको संरक्षण तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न जोड दिइएको छ।