logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

तिहारअघि नै फुल्यो सयपत्री, झापाका किसानलाई भण्डारण र बजारको चिन्ता

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ४४ मिनेट अघि
तिहारअघि नै फुल्यो सयपत्री, झापाका किसानलाई भण्डारण र बजारको चिन्ता

झापा / झापाका सयपत्री फूलखेती गर्ने किसानलाई तिहारअघि नै फूल फुलेपछि सुरक्षित भण्डारण र उचित बजारको चिन्ताले सताएको छ। वर्षाका कारण फूलको गुणस्तर बिग्रिने जोखिम बढेपछि किसानले फूल टिपेर कोल्डस्टोरमा भण्डारण गर्न थालेका छन्।

बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालका अनुसार तीन–तीन दिनमा फूल टिपेर बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा राख्ने गरिएको छ। झापामा फूलकै लागि छुट्टै कोल्डस्टोर नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको उहाँले बताउनुभयो।

त्यस्तै, अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पानी पर्दा फूल कालो हुने र गुणस्तरमा असर पर्ने भएकाले फूल टिपेर माला उन्दै भण्डारण गर्नुपरेको जानकारी दिनुभयो।

यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी जमिनमा सयपत्री खेती गरिएको छ। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा पनि व्यावसायिक रूपमा फूल उत्पादन भइरहेको छ।

स्वदेशी फूलको बजार सुनिश्चित गर्न माग

भण्डारणसँगै भारतीय फूलको आयातका कारण स्थानीय उत्पादनले बजार नपाउने चिन्ता किसानमा बढेको छ। बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सातबुँदे मागपत्र बुझाउँदै स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन्।