प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
काठमाडौं / नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको झल्को दिने तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’ सार्वजनिक भएको छ।
२०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको उक्त गीतले नेपाली समाजको सांस्कृतिक परम्परा, चाडपर्वको उल्लास र पारिवारिक आत्मीयतालाई प्रस्तुत गरेको छ।
पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द तथा लगानीमा तयार भएको गीत उहाँकै आधिकारिक युट्युब च्यानल ‘Bhim Kumar Ojha Official’ मार्फत सार्वजनिक गरिएको हो।
गीतमा चर्चित संगीतकार सन्तोष बिसीको संगीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ। नारायण दङ्गालले संगीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
चर्चित कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझासहित देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काको अभिनय रहेको छ।
गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित नभई गाउँघरको सम्झना, नेपालीपन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका मौलिक संस्कार र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै संरक्षण र निरन्तरतामा योगदान पुर्याउनु गीतको मुख्य उद्देश्य रहेको उनले बताए।
तिहारको झिलिमिली, दीपावली, देउसी–भैलो, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र आफन्तजनको मायाजस्ता सांस्कृतिक पक्षलाई गीत तथा भिडियोमार्फत जीवन्त बनाउने प्रयास गरिएको छ।
विशेषगरी रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउनुका साथै स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति र परम्पराप्रतिको गौरव बढाउने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक गर्न पाउँदा आफू हर्षित भएको बताउँदै गीतकार ओझाले आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्याउन पाउनु सुखद अनुभूति भएको उल्लेख गरे।
तिहारको उल्लाससँगै आत्मीयता, सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश बोकेको ‘गाउँघरै घमाइलो’ ले नेपाली मौलिक परम्पराको सुगन्ध नयाँ पुस्तासम्म पुर्याउने विश्वास गरिएको छ।
यस्तो छ ‘गाउँघरै घमाइलो’ :