प्रभातफेरी अनलाइन१ पटक पढिएको | २० सेकेण्ड अघि
काठमाडौँ / यू–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत नेपालले हङकङलाई ९२ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ।
चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा ५४ रनमै अलआउट भयो।
हङकङका लागि वान तुङ सो र मान केइ लेउङले समान १२ रन बनाए। नेपालका मनिषा चौधरी र रचना चौधरीले समान ३/३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाउँदा सवित्री धामीले ३६ रनको योगदान दिइन्।
हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन्। १४६ रन बनाएको नेपालले उत्कृष्ट बलिङ गर्दै हङकङलाई सस्तैमा समेटेर ९२ रनको जित निकालेको हो।