logo
२०८३ मंसिर १, मंगलबार |
☰
📰
🔍
✕

सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र

प्रभातफेरी अनलाइन२० पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीचबाटोमै अलपत्र

गुल्मी / गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से खण्डमा सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सवारी आवागमन ठप्प भएको हो।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडक सञ्चालनमा आएको तीन दिनपछि पुनः पहिरो खसेको हो। सडक माथिबाट अझै चट्टानसहितको पहिरो झरिरहेकाले थप जोखिम रहेको भन्दै भोलि बिहान पहिरोको अवस्था निरीक्षण गरेपछि मात्रै डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिनेछ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार रातिको समयमा पहिरो हटाउन सम्भव नभएकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिन रहेको छ।

सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर हुँदै पाल्पा, बुटवल, बागलुङ र पर्वततर्फ आवतजावत गर्ने सवारीसाधन तथा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्। जिल्लाको व्यस्त सडकमध्ये एक मानिने उक्त सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्।