logo
२०८३ कार्तिक ३०, सोमबार |
☰
📰
🔍
✕

रूसको मस्कोमा आयोजित विश्व सम्मेलनलाई प्रचण्डद्वारा सम्बोधन: विश्व शान्तिमा जोड

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
रूसको मस्कोमा आयोजित विश्व सम्मेलनलाई प्रचण्डद्वारा सम्बोधन: विश्व शान्तिमा जोड

​एजेन्सी / पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसको राजधानी मस्कोमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनलाई सम्बोधन गरेका छन्।

अखिल रूसी राजनीतिक दलद्वारा आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सार्वभौमिकता, आत्मनिर्णयको अधिकार, विश्व शान्ति, सामाजिक न्याय र आर्थिक समानताको विषयलाई प्रमुखताका साथ उठाएका छन्।

​वर्तमान विश्व व्यवस्था गहिरो रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै प्रचण्डले भू-राजनीतिक प्रतिस्पर्धा, व्यापार युद्ध, सैन्य तनाव र बढ्दो आर्थिक असमानताले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा चुनौती थपिरहेको बताए। विश्वको शक्ति सीमित देशहरूको हातमा केन्द्रित भइरहेको बेला कमजोर तथा विकासशील राष्ट्रहरूले वास्तविक स्वतन्त्रता र सार्वभौमिकताको अभ्यास गर्ने विषय गम्भीर रहेको उनको भनाइ थियो।

उनले राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैमा आर्थिक स्वतन्त्रता सुनिश्चित नहुने बताउँदै ऋण निर्भरता, आर्थिक प्रतिबन्ध, प्रविधिमाथिको एकाधिकार र बाह्य राजनीतिक हस्तक्षेपलाई नवऔपनिवेशिकताका नयाँ स्वरूपका रूपमा व्याख्या गरे।

​साथै, विश्व बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सबै राष्ट्रको सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र समान अधिकारमा आधारित विश्व व्यवस्था आवश्यक रहेको औँल्याए।

विभिन्न क्षेत्रमा जारी युद्ध तत्काल रोक्न र सबै विवादको समाधान संवाद तथा कूटनीतिबाट खोज्न आह्वान गर्दै उनले नेपालको परराष्ट्र नीतिको मूल मान्यता ‘सबैसँग मित्रता, कसैसँग शत्रुता नगर्ने’ रहेको स्पष्ट पारे।