logo
२०८३ कार्तिक ३०, सोमबार |
☰
📰
🔍
✕

बंगलादेशमा अवामी लिगका सयौँ कार्यकर्ताको प्रदर्शन, प्रहरीका सवारीसाधन र सार्वजनिक संरचनामा तोडफोड

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
बंगलादेशमा अवामी लिगका सयौँ कार्यकर्ताको प्रदर्शन, प्रहरीका सवारीसाधन र सार्वजनिक संरचनामा तोडफोड

एजेन्सी / बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरोध तोड्दै विभिन्न सार्वजनिक संरचना, स्मारक तथा प्रहरीका सवारीसाधनमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ः४५ बजेसम्म गोपालगञ्जका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ताले जुलुस निकाल्दै शेख हसिना र पार्टीको समर्थनमा नाराबाजी गरेका थिए।

राष्ट्रिय झण्डासहित लाठी, खुकुरी, भाला, बन्चरो र बाँसका हतियार बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीमा महिला कार्यकर्ताको समेत उल्लेख्य सहभागिता थियो।

प्रदर्शनकारीले बैंकपारास्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरी लामो समयदेखि बन्द रहेको कार्यालयसमेत खोलेका थिए। कार्यालय खुलेपछि उनीहरूले उत्सव मनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।