प्रभातफेरी अनलाइन१७ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झाङ गुओकिङ रहेका छन्। उनी आइतबार बिहान करिब १०ः३० बजे हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं अवतरण गरेका थिए।
शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर लुकाइराखेको दुई थान पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बरामद पदार्थको तौल ६३५.९६ ग्राम रहेको छ।
भन्सार छली अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरी झाङलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।