प्रभातफेरी अनलाइन१९ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
काठमाडौं / जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक सूचना जारी गर्दै २०८३ मंसिर २ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी दिएको हो ।
आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराएको थियो ।
सोही जानकारीका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ ।
