प्रभातफेरी अनलाइन१५ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले नाका सञ्चालनका लागि छलफल गरेका हुन्।
उनले रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल खुलाउन आवश्यक रहेको बताए।
तातोपानी नाका नेपाल र चीनबीचको ऐतिहासिक मित्रताको प्रतीकसमेत रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सम्पर्क सञ्जाल र आवागमन सहज बनाउन नाका सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
भेटका क्रममा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने बताएका थिए। साथै, दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विविध विषयमा पनि छलफल भएको थियो।