प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ६, २०८३ | आईतबार
वीरगञ्ज / वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर नगर बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। महानगरपालिकाले मंसिरभित्रै सेवा सुरु गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार ग्रामीण बस्ती तथा सहायक सडकलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउन नगर बस सञ्चालन गर्न लागिएको हो।
नगर बस सेवालाई व्यवस्थित र दिगो बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गरिने भएको छ।
उक्त कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन्।
नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ। सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्न गठित कार्यदललाई मंसिर ७ गतेभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।