logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन पुनर्विचार गर्न आवश्यक : मन्त्री तिमिल्सिना

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन पुनर्विचार गर्न आवश्यक : मन्त्री तिमिल्सिना

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

हाल चलचित्र क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ । २०२६ सालको अवधारणाअनुसार चलचित्रमा विदेशी लगानी निषेध गर्ने व्यवस्था गरिए पनि अब त्यसको औचित्य र वर्तमान सान्दर्भिकताबारे समीक्षा आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए ।

चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न सरकारले पुरानो कानुनी व्यवस्थालाई परिमार्जन गर्न लागेको उनको भनाइ छ । चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए ।

प्रविधिको विकाससँगै चलचित्र निर्माणको विषयवस्तु, माध्यम, लगानी र सामाजिक योगदानको दायरा फराकिलो बनेको उल्लेख गर्दै उनले नयाँ कानुनले ती परिवर्तनलाई सम्बोधन गर्ने स्पष्ट पारे ।