logo
२०८३ मंसिर ११, शुक्रबार |
☰
📰
🔍
✕

काभ्रेलि पत्रकार प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलित

प्रभातफेरी अनलाइन१० पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
काभ्रेलि पत्रकार प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलित

काभ्रे / धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारिताको निर्बाध अभ्यास सुनिश्चित गर्न घोषित आन्दोलनमा जिल्लाका सञ्चारकर्मी तथा पत्रकारसम्बद्ध संघ–संगठनको सहभागिता र ऐक्यबद्धता सधैँ रहेकाे महासंघ काभ्रे शाखाका अध्यक्ष बिनाेदकुमार न्याैपानेले सरकारले पत्रकारहरूका मागलाई सम्बाेधन नगरेसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष भाेजराज तिमल्सिनाले विगतमा पनि पत्रकारहरूले यस्ता आन्दोलनहरू गरिरहनुपरेकाे स्मरण गराउँदै पटकपटक राज्यले सञ्चार माध्यम र सञ्चारकर्मीहरूमाथि हस्तक्षेप र आक्रमण गर्नु दुःखद् रहेकाे बताउनुभएको छ ।

महासंघ काभ्रेपलाञ्चोक शाखाको आयोजनामा मंसिर ७ गते बुडोलस्थित कार्यालयमा जिल्लाका सञ्चारसम्बद्ध संघ–संगठनका प्रतिनिधि तथा महासंघका सल्लाहकारहरूसँग भएको छलफल पछि आन्दोलनकाे कार्यक्रम तय गरिएकाे थियाे । पत्रकारहरूलाई सामुहिक गिरफ्तार गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे ग्यारेन्टी गर, पत्रकारहरूकाे कलममाथि हस्तक्षेप नगर, निर्वाध सूचना प्राप्तिकाे सुनिश्चित गर लगायतका ब्यानर बाेकेका पत्रकारहरूले सरकारले सञ्चार माध्यम र पत्रकारहरूमाथि गरेका हस्तक्षेपकाे विराेध गर्दै पत्रपत्रिकाहरूलाई लोककल्याणकारी विज्ञापनमा गरेकाे विभेद्काे पनि विराेध गरेका छन् ।

विराेध कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरू, जिल्ला शाखाका पूर्व अध्यक्ष भाेजराज तिमल्सिना, ईश्वरी ओझा, भाेला थापा, माेतिराम तिमल्सिना, बद्रीराज तिमल्सिनालगायत वर्तमान कार्यसमितिका अध्यक्ष बिनाेदकुमार न्याैपाने, उपाध्यक्ष कपिल काेइराला, अग्रज पत्रकार लगायत महांसघका सदस्यहरूकाे बाक्लो उपस्थिती रहेकाे थियाे ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारिताको निर्बाध अभ्यास सुनिश्चित गर्न घोषित आन्दोलनमा जिल्लाका सञ्चारकर्मी तथा पत्रकारसम्बद्ध संघ–संगठनको सहभागिता र ऐक्यबद्धता जुटाउने उद्देश्यले छलफल आयोजना गरिएको महासंघले जनाएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले जिल्लामा आन्दोलनका कार्यक्रम अघि बढाएको छ। यसैक्रममा जिल्ला प्रशासन कार्यालय धुलिखेलमा जिल्लाका पत्रकारहरूले धर्ना दिएका हुन् ।