प्रल्हाद शर्मा हुमागाई
बनेपा/आरडिटी पोजिटिभका बाबजुद गर्भवती महिलाको सफल शल्यक्रिया गरी आमा र शिशु बचाउन सक्षम बन्यो शीर मेमोरियल अस्पताल ।कोभिड–१९ ले मुलुकलाई मात्र होइन विश्वलाई नै आतंकित बनाइरहेको संगीन घडिमा शीर मेमोरियल अस्पतालका चिकित्सकहरुको टिमले स्वास्थ्यको क्षेत्रमा अनुकरणीय काम गरेका छन् । स्वास्थ्यकर्मीले निर्वाह गर्नुपर्ने दायित्व पूरा गरेको चिकित्सक टोलीले बताएका छन् ।
लकडाउनको ७२औं दिन पार गर्दै थिए । बनेपा नगरपालिका निवासी २७ वर्षीय महिला सुत्केरी व्यथा लागेर बिहान करिब ३ बजे अस्पताल आइपुग्नुभयो । चिकित्सकहरुले नियमानुसार गर्नुपर्ने सबै परीक्षण गरे पश्चात् विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को नीति अनुसार आरडिटी परीक्षण गरियो । दुःखको कुरा ती गर्भवती महिलालाई आरडिटी पोजिटिभ देखियो । त्यतिबेला उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुको होश हवाश नै हरायो तर चिकित्सकहरुले संयम भएर अगाडि जानुपर्छ भन्ने मान्यता बमोजिम आफूहरुले प्रमाणपत्र प्राप्त गर्दाखेरि खाएको कसम शिरोपर गर्दै आफूप्रति आश्रित बिरामीको सेवा गर्छु भनेर खाएको प्रतिबद्धता त्यतिबेला सम्झिए । तत्कालै आमा र शिशुको अवस्था अध्ययन गरे । पिसिआर रिपोर्ट आउने समयसम्म आमा, बच्चालाई सुरक्षित राख्न नसकिने अवस्था देखिएपछि तत्कालै चिकित्सक टिमको निर्णयानुसार आरडिटी पोजिटिभ संक्रमित महिलाको अपरेशन गर्ने निर्णयमा पुग्यो । तत्पश्चात् सबै सावधानी अपनाउँदै चिकित्सक टिमले आरडिटी पोजिटिभ भएकी महिलाको सफलतापूर्वक शल्यक्रिया गरी आमा र शिशु दुवैलाई नयाँ जीवन दिएका छन् । शल्यक्रियाको तयारी भईरहँदा सोही प्रकृतिको महिला अस्पतालमा आउनुभयो । तत्कालै अस्पतालले उनलाई सेवा पु¥याउन नसकिने अवस्था देखि तुरुन्तै धुलिखेल अस्पतालमा रिफर गरेर आमा र बच्चा दुवैको स्वास्थ्यलाई जोखिम मुक्त बनाउन अठोट गरी पठायो ।
जब उनीभन्दा पहिला अस्पताल आइपुगेकी गर्भवती महिला र गर्भमा रहेको बच्चाको अवस्थालाई मनन् गर्दै शल्यक्रियाको तयारी चलिरहेको र आरडिटी रिपोर्ट पोजिटिभ आएको अवस्थामा ति महिलालाई रिफर गर्नुको विकल्प थिएन । अन्यथा, उनी र उनको गर्भमा रहेको शिशुको जीवन समेत बर्बाद हुने थियो । तर गर्भवती महिलालाई अन्यत्र पठाएको भनेर स्वास्थ्यकर्मीहरुको भावनामाथि चोट पु¥याउने गरी सामाजिक सञ्जाल खनिन पुग्यो । यो सवालमा दुःख लागेको छ भन्छन् सिंगो चिकित्सक टिम ।
तत्कालै शल्यक्रिया पश्चात् सिंगो शल्यक्रियामा सरिक टिम, सुत्केरी महिला र नाबालक शिशुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राखियो । बाँकी स्वास्थ्यकर्मीहरुले झण्डै २ घण्टाको समयभित्र सिंगो अस्पताललाई निर्मलीकरण गरी पुनः सेवालाई पूर्ववत अवस्थामै फर्कायो । यसरी दिनरात नभनी निरन्तर सेवामा समर्पित स्वास्थ्यकर्मीको मान मर्यादामाथि आँच आउने किसिमले सामाजिक सञ्जाल खनिएकोमा सिंगो चिकित्सक टोली दुखेसो व्यक्त गर्दछ ।
आरडिटी पोजिटिभ हुनु भनेकै कोरोना भाइरस होइन ? लकडाउनको ७२औं दिनको अवधिमा कुन चाहिँ डाक्टरले सोझै प्रभावित व्यक्तिलाई छुने हिम्मत गरेको छ ? तर हामीले जुन जोखिम उठाएर आमा र शिशुको जीवन बचायौं, त्यसको उपहार दिएको छ सामाजिक सञ्जालले भन्दै आक्रोश समेत व्यक्त गर्न पुग्यो शल्यक्रियामा संलग्न चिकित्सक टिम ।
लकडाउनको समयमा सरकारी अस्पतालले समेत प्रवाह गर्न हिच्किचाएको सेवा शीर मेमोरियल अस्पतालको चिकित्सक टिमले दिएको छ । शीर मेमोरियल अस्पतालमा प्राप्त सेवाहरु कुनै पनि दिन ओपिडी मार्फत् प्रवाह भइरहे रोकिएनन् । घटनाक्रमले धुलिखेल अस्पताल सिल हुँदा त्यहाँबाट सेवा लिएका कुनै पनि बिरामीलाई विभेद नगरी पहिलो प्राथमिकतामा हामी चिकित्सकले सेवा दियौं । जबकी हाम्रो अस्पतालमा नियमित चेकजाँचका लागि आउने बिरामीलाई पर्खाएर त्यति समस्या छैन भने भोलि आउनुस् भनेर शीरको नामै सुन्न नचाहने बिरामीहरुको उपचार गरेर सन्तुष्टि दिएर सेवा दियौं तर बिरामीकै खातिर सावधानी अपनाएर सुरक्षित अवतरण गर्न खोज्दा यस किसिमको दुर्घटना निम्तिनु चिकित्सा क्षेत्रकै लागि दुःखद अवस्था हो भन्नुहुन्छ मेडिकल डाइरेक्टर डाक्टर अरुण गुप्ता ।
यो अवधिमा बिरामीको चाप खेप्न नसकेर सुरक्षाकर्मीको सहारा लिन विवश भएको तथ्य यहाँहरुको सामु छ । हाम्रो टिमले बिरामीको सेवाका लागि रातदिन भनेन । नागरिक सेवा नै धर्म सम्झिएर सेवामा समर्पित भयौं । “हाम्रा पनि जहान, छोराछोरी, परिवार थिए होलान् ।” कसैको पर्वाह नगरी बिरामीको सेवामा निरन्तर लागिरह्यौं । यस किसिमको सन्त्रासपूर्ण अवस्थामा हाम्रै साथीहरु कति जागिर थाती राखेर घरमै परिवारसँग बसेका छन् भने कति निजी स्तरका अस्पतालले यो अवस्थामा सामान्य सेवा समेत नदिएर कति दीर्घ बिरामीहरुको अकालमै देवहासन भएको भन्ने खबर सुनिएको छ ।
जब कोरोना भाइरसका कारण मुलुक नै संकटमा परेको बेला राष्ट्रप्रतिको दायित्व, कर्तव्य नसम्झिने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था के का लागि ? भन्ने लागेर नै शीर मेमोरियल अस्पतालमा कार्यरत मेडिकल टिमले यो संकटको घडिमा राष्ट्रका लागि अरु केही गर्न नसके पनि बिरामीको सेवा नै हाम्रो दायित्व हो । हिजो जुन–जुन सेवा दिएका थियौं, आज पनि ति सेवाहरुलाई निरन्तरता दिने अठोटका साथ सेवामा समर्पित भइरहेका छौं । हामी ति सेवालाई निरन्तर दिन्छांै भनेर नै प्रण गरेका थियौं । त्यसैले आजसम्म निरन्तर सेवा दिएकै खातिर हाम्रा विरुद्ध विष वमन भएको दाबी मेडिकल टिमले गरेको छ ।
सामाजिक सञ्जालमा जति पनि कुरा आएका छन् ति यथार्थ होइनन् भन्दै मेडिकल टिमको प्रतिप्रश्न छ– कुनै पनि कुराको पुष्टि गर्ने दायित्व सञ्चारकर्मीहरुको होला । हुन त हाम्रो विषयमा परेन तर पनि सत्यतथ्य पुष्टि गर्नका लागि हामीसँग केही सोध्नु पर्दैन ? एकतर्फी रुपमा तथ्यहिन कुराले कति दिन टिक्छ तपाईंहरुको स्वच्छ पत्रकारिता ? भन्न पछि परेनन् शीर मेमोरियलको मेडिकल टिम ।
यता आरडिटी पोजिटिभ महिलाको गुनासो छ, चिकित्सकहरुले समयमै शल्यक्रिया नगरिदिएको भए सायद मेरो दोस्रो सन्तानले यो धर्ती देख्ने थिएन र मेरो पनि के हो अवस्था भन्न सकिने थिएन रे । त्यसैले चिकित्सकहरुप्रति हाम्रो कुनै गुनासो छैन । उहाँहरुले सावधानी नअपनाएको भए के हुन्थ्यो भन्न सकिँदैन थियो । डाक्टरहरुले जुन चुनौती उठाउनुभयो, त्यसका बारेमा जति नै सकारात्मक चर्चा गरेपनि अपुग नै हुन्छ । यदि डाक्टरहरुले थोरै मात्र चासो नराखिदिएको भए कतै म सावित्री तिमल्सिना त हुने थिइनँ ? भन्ने डर पनि लाग्यो । जुन अवस्थामा म अस्पताल पुगेको थिएँ र आज जुन अवस्था लिएर घर आइपुगेको छु, यो बिचको आरोह–अवरोहका बारेमा तुलना गर्ने शब्द नै छैन भन्नुहुन्छ तत्कालिन आरडिटी पोजिटिभ सुत्केरी महिला ।
डाक्टरहरुले पिसिआर रिपोर्ट पर्खेर बसेको भए त के हो के हो भन्नै सकिँदैन थियो । आफ्नो जीवनलाई नै दाउमा राखेर डाक्टरहरुले सेवा दिएका हुन् । आरडिटी पोजिटिभ भनेको नि कोरोना भाइरस संक्रमित नै हो नि ! पिसिआर रिपोर्ट नआउने समयसम्म त ! डाक्टरहरुले मेरो परिवारका लागि आफ्नो बलिदान नै गर्नुभएको हो भन्छु म त भन्नुहुन्छ तत्कालिन आरडिटी संक्रमित महिला । यस्तो चुनौती उठाएर हामीलाई जीवन दिनुभयो, बिडम्बना ! बाहिर अनर्गल प्रचार गरेर सेवाप्रति नै वितृष्णा जगाउने काम हुनु दुःखद पक्ष भएको उहाँको तर्क थियो ।
यता अर्थाेपेडिक डाक्टर सुजनको तर्क छ– हाम्रो समाज पछिल्लो समय उत्श्रृंखलतातर्फ अग्रसर भएको यो घटनापछि आफूले मनन् गरेको बताउनुभएको छ । प्रविधिसँगै हामीमा नैतिकता हराएको महसुस गरेको छु । हामीले जुन जोखिम उठाएर शल्यक्रिया ग¥यौं, लकडाउनको अवधिमा कुनै पनि चिकित्सकले यो चुनौती उठाउने हिम्मत गरेको सुनेको छैन । यो चुनौतीको सम्मानका खातिर भ्रामक हल्ला छरेर हाम्रा विरुद्ध वितृष्णा जगाउने काम सामाजिक सञ्जालमा भयो । यो घटनाको जति नै निन्दा गरेपनि पुग्दैन भन्नुहुन्छ डाक्टर सुजन । डाक्टर सविना अर्यालले पनि डाक्टर सुजनकै भनाइसँग सहमत जनाउँदै कसैको व्यक्तिगत रिसिबिका कारण स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै बदनाम गर्नु उचित नभएको तर्क राख्नुहुन्छ डाक्टर सविना अर्याल ।
ऐनाथेसिया डाक्टर गौरवको भनाइ छ– लकडाउनको समयमा पनि दैनिक १०÷१२ जनाको सानोदेखि ठूलो शल्यक्रिया भइरहेको छ । आफूलाई उम्दा अस्पतालको दर्जा दिने कुनै पनि स्वास्थ्य संस्थाले यस किसिमको सेवा दिएको अभिलेख सार्वजनिक गर्ने हिम्मत गर्न सक्दैन भन्नुहुँदै डाक्टर गौरव थप्नुहुन्छ– अहिले पनि दैनिक सालाखाला दुई सयको हाराहारीमा ओपिडि जाँच भएका छन् । यो सेवा त्यतिकै भएन होला । किन हाम्रा विरुद्ध विष वमन हुन्छ ? आश्चर्य लाग्छ भन्नुहुन्छ डाक्टर गौरव ।
लकडाउनको अवधीमा कोरोना प्रभावित बिरामीको शल्यक्रिया गरेर पुनर्जीवन दिनु स्वास्थ्यको क्षेत्रमा अनुकरणीय योगदान मान्न सकिन्छ भन्नुहुन्छ पिडित महिलाका श्रीमान् सुजन कार्की । कार्कीका अनुसार शल्यक्रियामा सरिक डाक्टर सेविना बानियाँको टिमभित्र रहनुहुने डा. सुमित शाक्य, डा. किशन पाण्डे र डा. आदर्शले गर्नुभएको अनुकरणीय योगदानको म मुक्तकण्ठले सम्मान व्यक्त गर्दछु । मेरो परिवारमा खुशी दिन ५÷६ घण्टा खटेर आफ्नो ज्यानको समेत पर्वाह नगरी शल्यक्रियामा सरिक भई सफलता चुम्न सक्षम हुनुभएका डाक्टरको टिमलाई म र मेरो परिवारको तर्फबाट फेरि पनि हृदयदेखि हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै तपाईं सञ्चारकर्मीको तर्फबाट तमाम पाठक समक्ष अहिले यो विषम परिस्थितिमा श्रीमान्ले श्रीमती, सन्तानले आमाबुबालाई समेत संक्रमित भनिसकेपछि नछोएको र तड्पि तड्पि मृत्युवरण स्वीकारेको अवस्थामा डाक्टरहरुले जुन चुनौती उठाउनुभएको छ, त्यसको सम्मान गर्न सिकौं । अनर्गल भ्रम छरेर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाप्रति वितृष्णा फैलाउने काम नगरांै भन्नुहुन्छ पिडितका श्रीमान् सुजन कार्की ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |