logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

आठ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम

प्रभातफेरी अनलाइन४३९० पटक पढिएको प्रकाशित मिति: २०७७ आश्विन १३, मंगलबार(५ साल अघि)
आठ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम

काठमाडौं/नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा गत शुक्रबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पत्रकारलाई अभिमुखिकरण सम्पन्न गरेको छ ।
शुक्रबारको कार्यक्रमसंगै महासंघले भर्चुअल माध्यमबाट सातवटै प्रदेशका करिब ८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको पत्रकार महासंघले जनाएको छ । कार्यक्रममा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोरोना भाइरस संक्रमणबाट जोगिएर कार्यक्षेत्रमा खटिन पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले कार्यक्रमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको भन्दै उक्त ज्ञानलाई सहकर्मी तथा परिवारमा समेत विस्तार गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोरोनासंग सम्बन्धित पक्षहरुका बारेमा प्रस्तुतिकरण सहित सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । महासंघका सचिव एवम् कार्यक्रमका सहजकर्ता प्रकाश थापाले नेपालमा कोरोनाको संक्रमण शुरु भए लगतै महासंघले जारी गरेको कोरोना निर्देशिका पालना गर्न आग्रह गर्नुभएको थियो । साथै उहाँले अभिमुखीकरण कार्यक्रमले पत्रकारलाई कोरोना भाईरस संक्रमण सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको बताउँदै कोरोनाको रोकथाम तथा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीका लागि यो अभिमुखीकरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमा स्वास्थ्य विज्ञहरु डा. सुनोर बर्मा, डा. बिनोदप्रसाद गुप्ता, डा. मिका भट्टचन, रोशन नेपाल, डा. समिरकुमार अधिकारी, राजन रायमाझी, डा. राहुल प्रधान, डा. केदार मरहठ्ठा, डा.निराजन भुषाल लगायतले आ–आफ्ना प्रस्तुति राख्दै सहभागीहरुको जिज्ञासा मेटाएका थिए ।