प्रभातफेरी अनलाइन६५९१ पटक पढिएको प्रकाशित मिति: ५ साल अघि (५ साल अघि)

काभ्रे । बालाजु वाइपास सडक प्रकरणमा गिरफ्तारी परेका नेवाः भूमि, भाषा, सम्पदा अभियन्ताहरुलाई बिना शर्त स–सम्मान रिहाइको माग गर्दै पनौती बसपार्कमा विरोध कार्यक्रम भएको छ ।
सम्मानित सर्वोच्च अदालतको स्टे अर्डर अन्तरिम आदेशलाई नै वेवास्ता गर्दै काठमाण्डाँै बालाजु वाइपास क्षेत्रमा गैर न्यायिक तवरले बिना मुआब्जा त्यहाँका ४९ वटा घरहरु भत्काइ सडक चौडा पार्ने कार्य भएकोमा पुनः त्यहि ठाँउमा सरकारी प्रयोजनको लागि भौतिक संरचना निर्माण गर्न उपभोक्ता समिति समेत गठन गरि सकेकोले त्यसको विरोधमा त्यहाँका पिडित स्थानीयहरुले जस्तापाताले बेरेको घेरबार भत्काइएको थियो। यहि क्रममा त्यहाँ केहि स्थानीय व्यक्तिहरुलाई अमानवीय तवरले गिरफतार गरि थुनामा राखिएको थियो। थुनामा राखिएका स्थानीयहरुलाई भेट्न जाने क्रममा नेपाल भाषा (नेवार भाषा) प्रयोग गरेको भनी प्रहरी प्रशासनले बिना कारण नेवाः अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ लगायतलाई गिरफतार गरिएको थियो ।
बहु भाषिक, बहु धार्मिक लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजातीको भाषा, धर्म, संस्कृतिको जगेर्ना, प्रर्वद्दन, सम्र्वद्दन र सम्मान गरेकोमा राज्यले उल्टै एउटै भाषालाई प्राथमिकता दिई अन्य समुदायको भाषा संस्कृतिलाई मेटाउने विभेदपूर्ण, दमनकारी, अधिकनायकवादी कदमको घोर भत्र्सना गर्दै उत्पीडनमा परेका सम्पूर्ण आदिवासी जनजातीहरु एक हुन आव्हान गर्दै हलिं नेवाः गुथि, पलाँची कचा, पलाँती मिसा कचा, ज्योँलाचिटि कचा, टुसाल सुब्बागाँउ कचा, इँटे कचा र नसंचा पुचः पनौतीले संयुक्त रुपमा विरोध कार्यक्रमको आयोजना गरेको थियो।
विरोध कार्यक्रममा भाषा, सम्पदा, संस्कृति प्रेमी अभियन्ताहरुले सर्वोच्च अदालतको अन्तरिम आदेश पालना गर। भाषिक तथा सांस्कृतिक दमन बन्द गर। विकासको नाममा आदिवासी जनजातिलाई सुकुम्बासी बनाउन पाइदैन। के मैले मेरो नेपाल भाषा बोल्न नपाउने प्रहरी ? मेरो मातृभाषा मलाई प्यारो । के यो देशमा खस भाषा मात्र बोल्न पाइने हो सरकार ? गैर न्यायिक सडक विस्तार कार्य बन्द गर । मेरो नेपाल भाषा नबोल भन्न पाइन्छ प्रहरी ? बालाजु वाइपास सडक प्रकरणमा परेका नेवाः अभियन्ताहरुलाई विनाशर्त तुरुन्त रिहा गर । जस्ता प्ले कार्ड बोकी नारा जुलुस गरेका थिए ।
सो प्रकरणमा सुमन सायमी, महेश्वर मानन्धर, विरोचन श्रेष्ठ, मीन शाही, रुक्षिव श्रेष्ठ, भिमदेव श्रेष्ठ, संजय तामाङ, दिपेन श्रेष्ठ गरि ८ जना गिरफ्तारीमा परेका थिए ।