विश्व सिग्देल
धेरै पछि घर फर्केको रात
उसले थाहा पायो
घरले उसलाई बिर्सिसकेछ
भलै उसले दियो देखेन दियोघरको लामो समय
आकासमा टिम्टिमाउने
ताराहरूको उज्यालो त उस्तै थियो
भलै उसले
रातो माटो पोतिएको सङ्घार टेकेन लामो समय
पहाडको सिउँदो रङ्ग्याउने
गोधुलीको लालीमा त उस्तै थियो
उसले आफूले आफैलाई हे¥यो
चुरा नहुँदा हातका
सम्झनाका जलतरङ्ग पाउँथ्यो ऊ
डाँडाकाँडा उडी डुल्ने
भुईं कुहिरोका उमङ्ग पाउँथ्यो ऊ
सपना पाउँथ्यो आँखाभरि
नओइलाउने रातजस्तै
रात पाउँथ्यो आँखाभरि
नओइलाउने सपनाजस्तै
प्रत्यक्ष–परोक्षका समीकरणका त्यान्द्रा समात्दा
उसले थाहा पायो
अलिकति थाकेर, अलिकति हारेर
केही खोजिमेली जुटाएर, केही जानीजानी लुटाएर
धेरै पछि घर आउने मान्छे
कहाँ आउन पाउँदो रहेछ र
गएजस्तो सिङ्गै
भएजस्तो सिङ्गै
थाहा भयो,
घरबाट सिङ्गै निस्केर
घर फर्कन्छ आधा मान्छे ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |