logo
२०८३ अषाढ २, मंगलबार |
📰
🔍

स्वाभिमान

प्रभातफेरी अनलाइन११९५ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार(४ साल अघि)
स्वाभिमान

शिव शर्मा, टोखा, काठमाडौं

यो हो सुन्दरता विछट्ट हँसिलो हाम्रो हिमाली शिर
मोती भस्म भनौं कि श्वेत पगरी चाँदी जमेको भिर ।

झुक्ने छैन कुदृष्टिले दृढ छ यो झण्डा र हाम्रो मन
नेपालीपन स्वाभिमान दरिलो आदर्शको जीवन ।

भुठो सन्धि र जालझेल अरिको साम्राज्यको दासता
दिन्छौं प्राण खिचेर लोभ,भयले स्वीकार्नु मान्छौ वृथा ।

हाम्रो राष्ट्रियता परे अभरमा जुट्छौं भएका जति
माटो बन्दछ स्वाभिमानको शिरको हौं वीरका सन्तति ।

सारा विश्व प्रभावका अतिरथी तन्द्रा भए ब्युँझ हे
गोर्खे हिड्छ धार खुकुरी संसार पल्टिन्छ हे ।

पुर्खाको पसिना तथा रगतको गाथा छ ज्युँदो अझै
हाम्रो धर्म छ स्वाभिमान युगको अक्षुण्ण माटो सँगै ।

हामी शिल्पकला र ज्ञान गुणले छौं पूर्ण भू– लोकमा
कालो बादलमा जडी जल लता बुट्टा भयौं व्योममा ।

ठूलो रत्न समानको प्रिय सदा ढाकेर यो ह्रदय
योद्धा हौं र छ स्वाभिमान शिरमा बाँच्छौ सधैं निर्भय ।

किल्ला बन्द गरी लड्यौ समरथी पानी नपाई तक
वृद्धा, वृद्ध, सपुत सहास गरी वीरङ्गना, वालक ।

सिङ्गो स्वर्ग सरी रह्यो मनभरी आफ्नै यही आँगन
नेपाली धन, स्वाभिमान, अभ, माटो र सच्चा मन ।