आमा करेसा बारीमा
काँक्रो, फर्सी रोप्दै हुनुहुन्थ्यो ।
हामी मकै बारीमा मकैका पिपिराहरू गोड्दै थियौँ ।
बुवा खेतमा पानी पटाउन जानु भएको थियो ।
खाना खान आइपुगिन भनेँ
मलाई खाना उतै ल्याइदिनु है
भन्नु भएको थियो ।
एक मेलो तुरेर
बुवालाई खाना पु¥याउन जानु थियो, खेतमा
आमालाई काँक्रो, फर्सी रोपेर
एक भारी घाँस काट्नु थियो ।
हामी सबैलाई
सधैँको झैँ
कामको उस्तै चटारो थियो ।
सधैँको झैँ
थाहै नपाइ
टुप्लुक्क आँगनको डिलमा आइपुगेछ
यसपाली पनि
नयाँ वर्ष ।
मैले सोध्नु थियो, नयाँ वर्षलाई
यस पाली के थिएर आयौ ?
सधैँ झैँ
अलिकति हाँसो, खुसी
अलिकति उत्साह, उमंग
र जोश, जाँगर
अनि अनुहारमा
त्यसकै फिस्स
कृतिम हाँसो ।
कसैलाई गोठालो जानु थियो ।
कसैलाई अफिस जानु थियो ।
कसैलाई स्कुल ।
कसैलाई पढ्न जानु थियो ।
कसैलाई पढाउँन जानु थियो ।
सधैँ झै हामीलाई कामको उस्तै चटारो थियो ।
के ल्याइदियौ, हामीलाई यो वर्ष ?
उही सधैँ झै नयाँ वोतलमा पुरानै रक्सि कि
नयाँ वोतलमा नयाँ रक्सि ?
अलिकति त्यही हाँसो, खुसी
अलिकति त्यही उत्साह, उमंग
र जोश, जाँगर
अनि अनुहारमा
उही फिस्स कृतिम हाँसो ?
साँच्चै यस पाली
के ल्याइदियौ,
नयाँ वर्ष हामीलाई ?
सधैँ झैँ थाहै नपाइ
आँगनको डिलमा आइपुगेछ
यस पालि पनि
नयाँ वर्ष ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |