पछिल्लो समय झण्डै दुई तिहाइको सरकार बनेपछि नेपाली जनताले निकै अपेक्षाहरु राखेका थिए । देशमा भइरहेको बेथिति, अराजकता र भ्रष्टाचारजन्य लगायतका पक्षहरु अन्त्य भएर जानेछन् । नेपाली जनताले सहज रुपमा आफ्ना नैसर्गिक अधिकारलाई उपयोग गर्न पाउनेछन् भन्ने अपेक्षा रहनु स्वभाविक पनि थियो ।
बिडम्बना ! सरकार बनेको १ वर्ष हुनैलाग्दा पनि नेपाली जनताले अपेक्षा गरेका कुनै पनि आशाहरु परिणाममुखी नभएर निराशामा परिणत हुँदै गइरहेको सरकारले संसदमा पेश गरेको प्रतिवेदनले पुष्टि गरेको छ ।
जनताद्वारा निर्वाचित थलोमा बहस हुनुपर्ने, जनताका लागि आवश्यक पर्ने विधि, नीति, कार्यक्रमहरु संसदमा छलफल चलाइनु पर्नेमा सरकार जस्केलाबाट अध्यादेश ल्याएर संसदलाई निरिह बनाउन लाग्नुले पनि सरकार छ भन्ने अनुभूति भुईंमान्छेले अझै पाउनसक्ने अवस्था देखिएन । सरकारका जति पनि रबैयाहरु देखिएका छन्, त्यसले भुईंमान्छेको जनजीवनमा नकारात्मक असरभन्दा अरु केही उपलब्धी हुन नसक्ने सरकारको क्रियाकलापले देखाएको छ । जसको प्रत्यक्ष सिकार महँगीलाई लिन सकिन्छ । बजारमा भएको कालाबजारिया गतिविधिले गर्दा दैनिक उपभोग्य खाद्यान्न लगायतका वस्तुहरुमा मूल्यवृद्धिका कारण भुईंमान्छेहरुमा छाक टार्न धौ–धौको अवस्था सिर्जना भएको छ ।
सरकारले जति नै गुड्डी हाँकेपनि भुईंमान्छेले नैसर्गिक अधिकारभित्र पर्ने कुनै पनि अधिकारहरु प्राप्त गर्ने अवस्था रहेन । जसको कारण मुलुकको युवा जनशक्ति दिन दुई गुणा रात चौगुणाको दरले विदेश पलायन हुन बाध्य भएको छ । जसका कारण समग्र मुलुकमा दक्ष जनशक्तिको अभाव खड्किँदै गएको छ । जसको पहिलो निशानाको रुपमा सुरक्षा निकाय र निजामतिको क्षेत्रमा देखिएको छ भने विकराल डरलाग्दो रुपमा शैक्षिक संस्थामा दक्ष जनशक्तिको अभाव कालो बादल जसरी मडारिन पुगेको छ । गाँस, बास, कपास, रोजगार लगायतका पक्षमा सरकारको ध्यान जान नसक्नुले यो सरकारप्रतिको विश्वास दिनप्रतिदिन खस्किँदै गएको छ । यो अवस्थामा सरकार सञ्चालक राजनीतिक दलले आफूलाई रुपान्तरण गर्दै जनजीविकाको सवालमा गम्भीर बन्नु र भुईंमान्छेलाई सरकार छ भन्ने अनुभूति दिलाउनु उसको दायित्व हो । यो दायित्वबाट विमुख हुनु सिंगो राष्ट्र, राष्ट्रियता, जनजीविका र जनतन्त्रप्रति नै आधात पुग्ने ठम्याईमा हामी पुगेका छौं ।
हाम्रो आग्रह छ, सरकारले विधिको शासनलाई अनुशरण गर्दै भुईंमान्छेका अपेक्षाहरुलाई पनि सम्बोधन हुनेगरी आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ भन्ने अपेक्षा राख्दछौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |