प्रभातफेरी अनलाइन७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार(६ घण्टा अघि)
काठमाडौं, पोखरामा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै होटलहरू भरिभराउ हुन थालेका छन्। होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार यतिबेला लेकसाइड क्षेत्र, फेवाताल र तालबाराही मन्दिर आसपास भारतीय पर्यटकको चहलपहल निकै बढेको छ।
गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू—तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथ लगायतका स्थानमा भारतीय पर्यटकको उपस्थिति उत्साहजनक रहेको बताइएको छ। साथै, विभिन्न पदयात्रा मार्गहरूमा पनि भारतीय पर्यटकको आकर्षण बढेको छ।
अध्यक्ष सुवेदीले भारतमा बढ्दो गर्मीबाट राहत पाउन र बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई सहज तथा आकर्षक गन्तव्यका रूपमा रोज्न थालेको बताए। उनले पोखरामा आउने पर्यटकको स्वागत र सम्मान गर्नु पर्यटन व्यवसायीहरूको दायित्व भएको उल्लेख गरे।
पर्यटकको संख्या बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधिमा पनि उल्लेख्य वृद्धि भएको छ। फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकका अनुसार फेवातालमा दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेका छन्। उनले पछिल्लो डेढ महिनादेखि भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रहेको र उनीहरू विशेषगरी तालको बीचभागमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्न रुचि देखाउने गरेको जानकारी दिए।