प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(१ घण्टा अघि)
काठमाडौं, रौतहटको गरुडा नगरपालिका–४ बाट चोरी भएको मोटरसाइकल प्रहरीले घटनाको करिब ३० मिनेटभित्रै बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ का २० वर्षीय अनिलकुमार साह र २० वर्षीय रामनारायण यादव रहेका छन्।
मंगलबार साँझ करिब ६ः३० बजे गरुडा नगरपालिका–४ स्थित एक घरअगाडि पार्किङ गरी राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको थियो।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले गढीमाई नगरपालिका–६ को धर्मपुर गाउँबाट बाहिरिने एकमात्र पुलमा निगरानी बढाएको थियो। चेकजाँचका क्रममा साँझ ७ बजे चोरी भएको मोटरसाइकलसहित दुवै आरोपीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ।