logo
२०८३ अषाढ १३, शनिबार |
📰
🔍

धुलिखेल–खावा सडक खण्डमा असार २२ देखि १५ दिन राति सवारी आवागमन बन्द

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १३, शनिबार(२७ मिनेट अघि)
धुलिखेल–खावा सडक खण्डमा असार २२ देखि १५ दिन राति सवारी आवागमन बन्द

काठमाडौं, स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे कार्यलाई तीव्रता दिन असार २२ गतेदेखि साउन ४ गतेसम्म (१५ दिन) रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार टिपर र ठूला मालवाहक ट्रकलाई उक्त अवधिभर यस सडकखण्डमा पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानीमा असर नपरोस् भन्ने उद्देश्यले निर्माण कार्यलाई समन्वय गर्दै यो व्यवस्था गरिएको हो। यात्रु तथा सवारीचालकलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने तोकिएको अवधिमा पनि पूर्ववत् सञ्चालन गर्न पाइनेछ। सवारी व्यवस्थापनका लागि काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जनाइएको छ।

यसअघि गत चैतमा पनि करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द गरी दुई दशमलव पाँच किलोमिटर सडकमा डिबिएम (DBM) कालोपत्रे गरिएको थियो।