logo
२०८३ अषाढ २२, सोमबार |
📰
🔍

राष्ट्रियसभामा दलित अधिकारदेखि सडक सुरक्षा र महँगीसम्मका विषयमा सरकारको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन२५ पटक पढिएको प्रकाशित मिति: १४ घण्टा अघि (१४ घण्टा अघि)
राष्ट्रियसभामा दलित अधिकारदेखि सडक सुरक्षा र महँगीसम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धताको कार्यान्वयन, सडक सुरक्षा, महँगी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने र सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे।

सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गरिन्।

सांसद रुक्मिणी कोइरालाले लैङ्गिक असमानता, जातीय विभेद तथा श्रम शोषण अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिन्। सांसद रेणु चन्दले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

यसैगरी सांसद विष्णुकुमारी सापकोटाले महिलालाई स्वरोजगार बनाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिन्।

सांसद विष्णुदेवी पुडासैनीले ट्राफिक नियमको कडाइका क्रममा सर्वसाधारणले अनावश्यक सास्ती भोग्न नपर्ने व्यवस्था गर्न तथा सडकका खाल्डाखुल्डी र असुरक्षित संरचना तत्काल सुधार गर्न सरकारसँग आग्रह गरिन्।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो महँगीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बजार अनुगमन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद सावित्री मल्लले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षाका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। सांसद विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकायले पनि विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।