logo
२०८३ श्रावण २, शनिबार |
📰
🔍

‘संघीय व्यवस्थाले गाउँगाउँमा विकास पुर्‍यायो, लोकतन्त्र गरिबको पक्षमा छ’ : मुख्यमन्त्री बानियाँ

प्रभातफेरी अनलाइन३५ पटक पढिएको प्रकाशित मिति: १६ घण्टा अघि (१६ घण्टा अघि)
‘संघीय व्यवस्थाले गाउँगाउँमा विकास पुर्‍यायो, लोकतन्त्र गरिबको पक्षमा छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, सीमान्तकृत र आवाजविहीन नागरिकको हितका लागि स्थापित भएको बताएका छन्।

मकवानपुरको चौघडास्थित नवजीवन ज्योति क्लब भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले संघीय व्यवस्थाकै कारण विकास र सरकारी सेवाको पहुँच गाउँगाउँसम्म विस्तार भएको उल्लेख गरे। बागमती प्रदेश सरकार गरिब तथा सीमान्तकृत समुदायको अभिभावकका रूपमा काम गरिरहेको उनको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमा बढ्दो नकारात्मकता, गालीगलौज र तथ्यहीन टिप्पणीको प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। उनले विगतमा एकात्मक शासन प्रणालीका कारण विकास र सेवाको पहुँच सबै नागरिकसम्म नपुगेको स्मरण गर्दै अहिले स्थानीय र प्रदेश सरकारको समन्वयमा विकास निर्माणका काम तल्लो तहसम्म पुगेको बताए।

उनले वर्तमान व्यवस्था लामो राजनीतिक संघर्ष र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धि भएकाले यसलाई कमजोर बनाउने वा बदनाम गर्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। “सबै कुरा तुरुन्तै प्राप्त होस् भन्ने सोच बढ्दै गएको छ, तर संघर्ष गर्न चाहने मनोवृत्ति घट्दो छ। सामाजिक सञ्जालमा सत्य–असत्य छुट्याउनै नखोजी गरिने नकारात्मक टिप्पणीले देश विकासमा बाधा पुर्‍याउँछ,” उनले भने।

मुख्यमन्त्री बानियाँले प्रशासनिक खर्च कटौती र सुशासनलाई प्राथमिकता दिँदै बागमती प्रदेश सरकारका मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गरिएको जानकारी दिए। हाल केही मन्त्रीहरू बिना विभागीय रहे पनि छिट्टै कार्यविभाजन टुंग्याएर आठ मन्त्रालयकै संरचनाअनुसार सरकार अघि बढ्ने उनले बताए।