प्रभातफेरी अनलाइन२८ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गरेका निर्णय अकाट्य नहुने भन्दै आवश्यक परे ठूलो क्षति रोक्न रातारात पनि सच्याउन सकिने बताएका छन्।
शनिबार रौतहटमा आयोजित कार्यक्रमका क्रममा नेता तथा कार्यकर्तासँगको छलफलमा उनले सरकारले जनहितका लागि निर्णय गरे पनि व्यवहारमा त्यसले हानि पुर्याएमा तत्काल संशोधन गर्नुपर्ने बताए।
‘सरकारले जसका लागि लाभ होस् भनेर निर्णय गरेको हो, त्यसले लाभभन्दा हानि पुर्यायो भने निर्णय परिवर्तन हुन्छ। यदि कुनै निर्णयले ठूलो क्षति गर्यो भने त्यसलाई रातारात पनि सच्याउनुपर्छ,’ उनले भने।
लामिछानेले सरकारको नियत गलत नभएको दाबी गर्दै निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए त्यसलाई सुधार गर्न सकिने उल्लेख गरे। उनका अनुसार निर्णयमा त्रुटि भए सच्याउन सम्भव भए पनि नियतमै समस्या भए त्यसलाई सुधार्न कठिन हुन्छ।
कार्यक्रममा रास्वपाका रौतहटका नेता तथा कार्यकर्ताले सरकारले सीमा क्षेत्रमा लागू गरेका केही नीतिका कारण स्थानीयको जनजीवन प्रभावित भएको गुनासो गरेका थिए। विशेषगरी सीमा क्षेत्रमा तोकिएको १०० रुपैयाँको सीमासम्बन्धी व्यवस्थालगायतका विषयमा समाधानका लागि पहल गर्न उनीहरूले सभापति लामिछानेलाई आग्रह गरेका थिए।
कार्यकर्ताको गुनासोपछि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को बचाउ गर्दै सरकारको उद्देश्य जनहित नै रहेको र आवश्यक परे विवादित निर्णयहरू संशोधन गर्न सकिने बताए।