प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
काठमाडौँ, आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गर्दै देशको आर्थिक अवस्था अत्यन्तै निराशाजनक बन्दै गएको जनाएको छ।
पार्टीका प्रवक्ता सुभाष साहद्वारा जारी प्रेस विज्ञप्तिमा ‘जेन जी’ आन्दोलनको पृष्ठभूमिमा बनेको र दुई–तिहाइ बहुमत प्राप्त वर्तमान सरकार छोटो समयमै जनतामाझ अलोकप्रिय बनेको उल्लेख गरिएको छ। साथै, दलहरूबीच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ।
आजपाका अनुसार सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको छ। आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको, राजस्व वृद्धिदर विगतका वर्षको तुलनामा न्यून रहेको तथा विकास निर्माणका लागि विनियोजित पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोर कार्यसम्पादन उजागर गरेको पार्टीको भनाइ छ।
विज्ञप्तिमा सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४५ प्रतिशत पुगेको उल्लेख गर्दै संकलित राजस्व र वैदेशिक सहायताले चालु खर्चसमेत धान्न नसक्ने अवस्था आएको र ऋणको सावाँ–ब्याज तिर्न थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
आजपाले सरकारले सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीको नारा दिए पनि व्यवहारमा आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति गरेर ती प्रतिबद्धताविपरीत काम गरेको आरोप लगाएको छ। मन्त्रालयको संख्या घटाएको दाबी गरे पनि सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरेर अनावश्यक खर्च बढाइएको तथा सरकारका धेरै राजनीतिक निर्णय अदालतबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्किएको विज्ञप्तिमा उल्लेख गरिएको छ।