प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ श्रावण ७, बिहिबार
काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै देशको राजनीतिक परिवर्तनको प्रमुख आधार भएको बताएका छन्।
नेपालका अग्रणी वामपन्थी तथा लोकतान्त्रिक नेता पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले दुवै नेताले नेपालको सामाजिक तथा राजनीतिक रूपान्तरणमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरेका हुन्।
उनले पुष्पलाल श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, इतिहासका नयाँ व्याख्याता तथा राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गर्दै राजनीतिक आन्दोलनलाई मजदुर, किसान र आमजनताको जीवनसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको बताए। सहिद गंगालाल श्रेष्ठबाट प्राप्त प्रेरणाले पुष्पलालले जीवनभर परिवर्तनका लागि संघर्ष गरेको पनि उनले उल्लेख गरे।
त्यसैगरी, बीपी कोइरालालाई नेपाली राजनीतिको बहुआयामिक तथा शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै ओलीले दुवै नेताले आ–आफ्नो विचारधारा र भूमिकामार्फत मुलुकको रूपान्तरणमा ऐतिहासिक योगदान पुर्याएको बताए।
अध्यक्ष ओलीले पुष्पलाल र बीपीका आदर्श, दूरदृष्टि र संघर्षबाट प्रेरणा लिएर वर्तमान राजनीतिक आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
सन्देशमा उनले भने, “अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घदृष्टि, दूरदर्शिता र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ। बीपी कोइरालाको जेलजीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन्।”