logo
२०८३ श्रावण ८, शुक्रबार |
📰
🔍

‘एकै दिन सत्ता उल्ट्याउन सकिन्छ’ भन्दै प्रचण्डको वामपन्थी शक्तिलाई आह्वान

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ श्रावण ८, शुक्रबार
‘एकै दिन सत्ता उल्ट्याउन सकिन्छ’ भन्दै प्रचण्डको वामपन्थी शक्तिलाई आह्वान

काठमाडौं, नेकपा (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूलाई एकजुट भएर सरकारविरुद्ध सशक्त आन्दोलन गर्न आह्वान गरेका छन्।

शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रतिक्रान्तिको प्रयास अझै समाप्त नभएकाले त्यसलाई परास्त गर्न संगठित संघर्ष आवश्यक रहेको बताए।

प्रचण्डले संसद, सडक र आगामी निर्वाचन तीनै मोर्चाबाट सरकारलाई घेराबन्दी गर्नुपर्ने उल्लेख गर्दै सबै वामपन्थी दलले साझा न्यूनतम कार्यक्रम बनाएर अघि बढ्नुपर्ने धारणा राखे।

उनले प्रत्येक वामपन्थी दलले आफ्नो क्षमताअनुसार काठमाडौं र जिल्ला सदरमुकामहरूमा ठूलो संख्यामा कार्यकर्ता परिचालन गर्न सके एकै दिनमा सत्ता परिवर्तन सम्भव हुने दाबी गरे।

‘हरेक पार्टीले आफ्नो क्षमताअनुसार काठमाडौंमा पाँच–सात लाख र प्रत्येक सदरमुकाममा एक–डेढ लाख मानिस उतार्न सके एकै दिनमा सत्ता उल्ट्याउन सकिन्छ,’ प्रचण्डले भने।