प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ।
विराटनगरलगायत पूर्वी क्षेत्रमा पटक–पटक विद्युत अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जानेबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख तथा उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो।
अनुगमनका क्रममा टोलीले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ, सुनसरीलगायत जिल्लाका वितरण शाखा प्रमुखहरूसँग विद्युत आपूर्तिको अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको छ। २४ जना कार्यालय तथा केन्द्र प्रमुखसँग भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्था अवलोकन गरी आवश्यक तयारी तीव्र बनाउन निर्देशन दिएको छ।
यसैगरी, सुनसरीको बर्जुस्थित १३२ केभी सबस्टेसन निर्माण तीन महिनाभित्र सम्पन्न गर्न कर्मचारी र निर्माण कम्पनीलाई स्पष्ट कार्यादेश दिइएको छ। मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइएको छ। रणनीतिक महत्वका यी दुवै आयोजनामा आवश्यक समन्वय र पर्याप्त जनशक्ति परिचालन गर्न कर्मचारी तथा ठेकेदार कम्पनीलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पूर्वी क्षेत्रमा सञ्चालनमा रहेका अन्य आयोजना, प्रादेशिक कार्यालय र वितरण शाखाको अनुगमनसमेत जारी छ। विद्युत सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न तथा आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।