प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संकेत गर्दै वर्तमानमा उदाएका नयाँ राजनीतिक शक्तिहरू अवसरवाद र अराजकतावादको जगमा उभिएको आरोप लगाए।
उनले पपुलिजम, अराजकतावाद र अवसरवादका आधारमा स्थापित भएका शक्तिहरूको उदय जति छिटो हुन्छ, पतन पनि त्यति नै छिटो हुने दाबी गरे। नाटकीय रूपमा स्थापित भएका यस्ता राजनीतिक शक्तिहरूको भविष्य लामो नहुने उनको भनाइ थियो।
पोखरेलले रास्वपा वा अन्य नयाँ शक्तिको असफलतापछि जनमत स्वतः एमालेतर्फ फर्किन्छ भन्ने सोचमा बस्न नहुने पनि बताए। त्यसका लागि पार्टीले विशेषगरी युवा पुस्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै उनले एमालेका कार्यक्रममा अझै पनि युवाभन्दा पाका पुस्ताको उपस्थिति बढी देखिने गरेको उल्लेख गरे।