प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण ९, शनिबार
काठमाडौं, खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार गाभीले नेपाललाई पठाएको पत्रमा विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको उल्लेख छ। गाभीले यो व्यवस्था नेपालका लागि विशेष तथा एकपटकका लागि गरिएको स्पष्ट गर्दै भविष्यमा यसलाई नजिरका रूपमा नलिइने जनाएको छ।
गाभीले हालसम्म नेपाललाई ५५० मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको विस्तार, कोल्ड चेन सुदृढीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनमा सहयोग पुगेको छ।
नेपाल र गाभीबीच सन् २०१४ मा साझेदारी सम्झौता भएपछि सञ्चालित कार्यक्रमको व्यवस्थापन तथा वित्तीय प्रणालीको समीक्षा गर्न सन् २०२२ मा विशेष लेखापरीक्षण गरिएको थियो। आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको अवधिलाई समेटिएको उक्त लेखापरीक्षणपछि पुनः परीक्षणका लागि गाभीको टोली सन् २०२४ अप्रिलमा नेपाल आएको थियो।
पुनः परीक्षणपछि गाभीले १३ नोभेम्बर २०२४ मा नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर सम्बन्धी प्रतिबद्धता र भुक्तानी योजना माग गरेको थियो। त्यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व स्वास्थ्य सभाका क्रममा गाभी नेतृत्वसँग छलफल गरेपछि ४ जुन २०२६ मा समाधानको प्रस्तावसहित औपचारिक पत्राचार गरिएको थियो।
निरन्तर समन्वयपछि गाभीले नेपालको प्रस्ताव स्वीकार गर्दै उक्त रकम फिर्ता नमाग्ने र आगामी गाभी ६.० कार्यक्रमअन्तर्गत प्राप्त हुने नगद सहयोगबाट समायोजन गर्ने निर्णय गरेको हो।
गाभीले राष्ट्रिय खोप कार्यक्रमप्रतिको नेपालको प्रतिबद्धता, वित्तीय व्यवस्थापनमा सुधार, लेखापरीक्षणका सुझाव कार्यान्वयन तथा खोप सेवाको विस्तारका प्रयासको प्रशंसा गर्दै नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ। मन्त्रालयले यस निर्णयले नेपाल–गाभी साझेदारी थप सुदृढ हुने र राष्ट्रिय खोप कार्यक्रमको दिगोपनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।