प्रभातफेरी अनलाइन४६ पटक पढिएको | २०८३ श्रावण २, शनिबार
काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले डा. पाण्डेले जीवनभर नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्यका पक्षमा निर्भीक रूपमा आवाज उठाएको उल्लेख गरेका छन्। उनका अनुसार नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण चरणहरूमा डा. पाण्डेले नागरिक स्तरबाट संघर्षको नेतृत्व गर्दै निरंकुशताविरुद्ध सशक्त भूमिका निर्वाह गरेका थिए र नयाँ पुस्तालाई निरन्तर प्रेरणा दिएका थिए।
थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दिशा दिएको पनि स्मरण गरेका छन्। सार्वजनिक जीवनमा उनले प्रदर्शन गरेको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि प्रेरणादायी विरासत रहने थापाको भनाइ छ।
साथै, सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेको योगदान विशेष स्मरणीय रहेको उल्लेख गर्दै थापाले उनले जगाएको नागरिक चेतना र बौद्धिक सम्पदाले आगामी पुस्तालाई पनि मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन्।
सभापति थापाले दिवंगत डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।