logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका गुनासा

प्रभातफेरी अनलाइन५२ पटक पढिएको | २०८३ श्रावण ३, आईतबार
खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइमा नागरिकका गुनासा

बाँके, खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै नागरिकले उठाएका गुनासा सम्बोधन गर्न ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ। खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा असार ३१ गते सम्पन्न सार्वजनिक सुनुवाइमा जवाफदेही वक्ता र सहभागीबीच लामो प्रश्नोत्तरपछि प्रतिबद्धता घोषणा गरिएको हो।

सार्वजनिक सुनुवाइमा सहभागीहरूले सार्वजनिक सुनुवाइलगायत पालिकाका सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधि उपस्थित नहुने गरेको गुनासो गरेका थिए। साथै विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको अभाव, विद्यार्थीको संख्याअनुसार पर्याप्त फर्निचर नहुँदा पठनपाठन प्रभावित भएको, अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको कमी रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालय अभाव, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिम प्रभावकारी नभएको र तालिमपछि सहभागीलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएको विषय उठाइएको थियो।

त्यसैगरी सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या, विद्यालयको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको, जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोर र वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको तथा नियमित संकलनमा समस्या रहेको गुनासो पनि सहभागीहरूले गरेका थिए।

सहभागीहरूले केही विद्यालयले कानुनविपरीत विभिन्न शीर्षकमा शुल्क उठाउने गरेको भन्दै त्यस्ता विद्यालयमाथि कारबाही गर्न माग गरे। जनता माध्यमिक विद्यालय नजिक अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल व्यवस्थापन गर्न, पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन तथा युवामा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रभावकारी सचेतनामूलक अभियान सञ्चालन गर्न पनि सुझाव दिएका थिए।

सहभागीहरूले उठाएका प्रश्नको गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरू तथा शाखा प्रमुखहरूले जवाफ दिएका थिए।

सार्वजनिक सुनुवाइपछि घोषणा गरिएको ९ बुँदे प्रतिबद्धतामा सार्वजनिक सरोकारका कार्यक्रममा सबै जनप्रतिनिधिको अनिवार्य उपस्थिति सुनिश्चित गर्न कार्यपालिकामा छलफल गरी निर्देशन दिने, विद्यालयमा खानेपानी समस्या समाधान गर्ने, फर्निचर अभाव भएका विद्यालयमा आवश्यक फर्निचर उपलब्ध गराउने, अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग गर्ने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणमा सहयोग गर्ने तथा सीपमूलक तालिमलाई प्रभावकारी बनाउँदै सहभागीलाई व्यवसाय र स्वरोजगारसँग जोड्ने उल्लेख छ।

 

यस्तै सार्वजनिक सडक अतिक्रमण हटाउने, शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने, प्लास्टिक प्रयोग निरुत्साहित गर्न आवश्यक नीति तथा नियम लागू गर्ने, फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने, शिक्षा ऐन र कानुनविपरीत शुल्क लिने विद्यालयमाथि कारबाही गर्ने, जनता माध्यमिक विद्यालय नजिकका विद्युत् पोलका तार साउन ५ भित्र व्यवस्थित गर्ने, ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गरेका थिए भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।