प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्र यातायात क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने तयारी भइरहेको बताएका छन्।
बुधबार आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै गजुरेलले ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिमा निर्भर हुने अवस्थाको अन्त्य गर्दै प्रविधिमार्फत सवारी व्यवस्थापन र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने प्रणाली विकास गरिने बताए।
उनले विगतमा सडक निर्माण र विस्तारमा मात्रै ध्यान दिइएकाले व्यवस्थापन पक्ष ओझेलमा परेको उल्लेख गर्दै सार्वजनिक यातायातमा राज्यको लगानी बढाउनुपर्ने बताए। नेपालमा करिब ६३ लाख सवारीसाधन दर्ता भए पनि करिब ६० प्रतिशत मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ।
गजुरेलले सडक सुरक्षा, सार्वजनिक यातायात तथा सडकसम्बन्धी नीति, ऐन र कानुन सुधारको काम अघि बढिरहेको जानकारी दिँदै आगामी पाँच वर्षभित्र व्यवस्थित सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य रहेको बताए। साथै, मानवमैत्री पूर्वाधार निर्माण र ट्राफिक प्रहरीको व्यवहार तथा आर्थिक गतिविधिमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।