logo
२०८३ श्रावण ३१, आईतबार |
📰
🔍

जाजरकोट पहिरोमा भएको क्षतिप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण ३१, आईतबार
जाजरकोट पहिरोमा भएको क्षतिप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

जाजरकोट / कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जाजरकोटमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाहीले पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शनिबारदेखि परेको अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२, रिसाङलगायत क्षेत्रमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।

मुख्यमन्त्री शाहीका अनुसार उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन तीनै तहका सुरक्षा निकाय र संघीय गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। प्रदेश आपत्कालीन गोदाममा रहेका राहत सामग्री प्रभावितको यकिन तथ्याङ्कका आधारमा तत्काल पठाउने तयारी गरिएको उनले बताए।

यसैगरी, जाजरकोटको रावटेरे क्षेत्रमा पहिरोका कारण जोखिममा परेका करिब १६ जनालाई सुरक्षित स्थानमा ल्याउन सुरक्षा निकायको विशेष टोली परिचालन गरिएको छ। उनीहरूको सुरक्षित उद्धारका लागि आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री शाहीले जानकारी दिए।