logo
२०८३ भाद्र २, मंगलबार |
📰
🔍

ग्यास आपूर्ति सहज बन्दै, अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
ग्यास आपूर्ति सहज बन्दै, अनावश्यक सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौँ / नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले काठमाडौँ उपत्यकाको दैनिक औसत मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौँ उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिण्डरको माग हुन्छ। तर अहिले दैनिक पाँचदेखि आठ हजार सिलिण्डर थप आपूर्ति भइरहेको छ। उनका अनुसार केही दिनमै ग्यास आपूर्ति अवस्था पूर्ण रूपमा सामान्य हुने अपेक्षा गरिएको छ।

निगमका अनुसार भदौ २ गते मात्रै काठमाडौँ उपत्यकाका २२ वटा ग्यास उद्योगले ४७ हजार ३८८ सिलिण्डर बिक्री गर्दै छन्। त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ सिलिण्डर बिक्री भएको थियो, जुन दैनिक औसत मागभन्दा करिब १५ हजार बढी हो।

साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा तीन लाख नौ हजार ५५३ सिलिण्डर बिक्री भइसकेको निगमले जनाएको छ। यो दैनिक औसत ४४ हजारभन्दा बढी हो।

उद्योगी व्यवसायीहरूले पनि अहिले ग्यासको समस्या आपूर्ति अभावका कारण नभएको बताएका छन्। गत फागुनमा बाह्य कारणले ग्यास आयात घटेपछि समस्या समाधानका लागि सरकारले आधा भरिएको सिलिण्डर बिक्री सुरु गरेको थियो। त्यसको प्रभाव अहिले देखिएको उनीहरूको भनाइ छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलरमार्फत नै ग्यास बिक्री सुरु भएपछि आपूर्ति थप सहज भएको छ। उनका अनुसार अबको एक साताभित्र ग्याससम्बन्धी समस्या पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक करिब एक लाख १० हजार सिलिण्डर बिक्री हुने गर्छ। तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास अर्थात् ४० लाख ३६ हजार ३६४ सिलिण्डर बिक्री भएको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो। गत आवको साउनमा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ सिलिण्डर बिक्री भएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ सिलिण्डर बिक्री भएको निगमको तथ्यांक छ।

चैतदेखि असारसम्म आयातमा उतारचढाव

निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन ग्यास आयात भएको थियो। उक्त अवधिमा विभिन्न उद्योगबाट ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए। जबकि २०८१ सालको चैतमा ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख तीन हजार ३१० वटा पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।

त्यस्तै, गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन ग्यास आयात भएको थियो भने अघिल्लो वर्षको वैशाखमा ४६ हजार ५०३ मेट्रिक टन आयात भएको थियो। यस वर्षको जेठमा ३३ हजार ८४२ मेट्रिक टन र गत वर्षको जेठमा ४९ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको थियो।

असारमा भने यस वर्ष ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको छ भने गत वर्षको सोही अवधिमा ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ।