प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ भेट गरेकी छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो।
भेटका क्रममा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद दिँदै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताइन्। उनले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति पनि खुसी व्यक्त गरिन्।
मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे।
राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताइन्। जवाफमा मन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिए।
भेटमा सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका विषयमा समेत छलफल भएको थियो। राजदूत लोरेन्जोले यस क्षेत्रमा ईयूले नेपालसँग सहकार्य गर्ने योजना रहेको बताइन्। मन्त्री खनालले प्रस्तावको स्वागत गर्दै विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे। उनले सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको बताउँदै विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर रहेको उल्लेख गरे।
त्यस्तै, नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगन, नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा पनि छलफल भएको थियो।
राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोग मागेकी थिइन्। मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताए।