प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौँ / सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास र सरकारको प्रभाव घट्दै गएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो समय भएका बालिका बलात्कार तथा हत्या लगायतका घटनाले आफू मर्माहत भएको बताए। उनले यस्ता घटनालाई अलग-अलग रूपमा मात्र हेर्न नहुने धारणा राखे।
सरकार गठन भएयता भएका विभिन्न आन्दोलन, सामाजिक तथा धार्मिक सद्भावसँग सम्बन्धित घटना, मिटरब्याज तथा लघुवित्त पीडितका समस्या र चिकित्सकका आन्दोलनलगायतका घटनाले सरकारप्रतिको जनविश्वास कमजोर हुँदै गएको उनको भनाइ थियो।
उनले समाजमा अराजकता, अस्थिरता, हत्या, हिंसा र बलात्कारजस्ता घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। विभिन्न घटना र आन्दोलनले नेपाली जनता पीडामा रहेको देखाउने उनको भनाइ थियो।
समाजमा बेथिति बढ्दै जाँदा नागरिकको विश्वास र भरोसा टुट्ने तथा त्यसले अपराध बढाउने जोखिम रहने उनले बताए।