प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
भक्तपुर / हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भक्तपुरको छालिङस्थित श्री पञ्चमहालक्ष्मी मन्दिरमा विशेष आध्यात्मिक अनुष्ठान सम्पन्न गरिएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित अनुष्ठानमा सामूहिक विष्णुसहस्रनाम स्तोत्र, महामृत्युञ्जय मन्त्र तथा स्वस्ति–शान्ति पाठ गरिएको पीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यले जानकारी दिए।
वैदिक मन्त्रोच्चारणसहित दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति, बेपत्ताहरूको शीघ्र खोजी तथा सकुशल उद्धार, घाइतेहरूको पूर्ण स्वास्थ्यलाभ र पीडित परिवारलाई दुःख सहन सक्ने धैर्य, साहस तथा मानसिक शान्तिको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो।
वैदिक परम्परामा शान्ति, कल्याण तथा लोकमङ्गलका लागि गरिने प्रार्थना र स्वस्ति–शान्ति पाठले व्यक्तिगत मात्र नभई समष्टिगत कल्याणको भावना अभिव्यक्त गर्ने मान्यता रहँदै आएको छ।
श्रीकृष्ण जन्माष्टमीलाई भगवान् श्रीकृष्णको जन्मोत्सवसँगै धर्म, करुणा, मानवता, लोककल्याण र विपत्तिमा परेकाप्रति सहानुभूति प्रकट गर्ने अवसरका रूपमा ग्रहण गर्दै यसपटक विशेष अनुष्ठान आयोजना गरिएको मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यले बताए।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिमा परेका परिवारको दुःखमा सम्पूर्ण समाज एकजुट भएर उभिनुपर्नेमा उनले जोड दिए। राहत, उद्धार र पुनःस्थापनाका भौतिक प्रयाससँगै पीडित परिवारलाई आध्यात्मिक, मानसिक तथा मानवीय सहाराको समेत आवश्यकता रहेको उनको भनाइ छ।
‘विपत्तिमा परेकाहरूको दुःखमा साथ दिनु नै मानवताको धर्म हो’ भन्ने भावनासहित सम्पन्न अनुष्ठानले धार्मिक आस्थालाई मानवीय संवेदनासँग जोड्दै विपत्तिको समयमा करुणा, सेवा, प्रार्थना र सामाजिक एकताको भावना अझ सुदृढ गर्नुपर्ने सन्देश दिएको छ।
श्री पञ्चमहालक्ष्मी मठ अनन्त श्री विभूषित कमलयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा सञ्चालन हुँदै आएको छ।