logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

पार्टीको निर्णय नसच्याए सांसद पद त्यागी दिन्छु : सांसद न्यौपाने

प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
पार्टीको निर्णय नसच्याए सांसद पद त्यागी दिन्छु : सांसद न्यौपाने

नुवाकोट / त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका प्राविधिकहरूको उद्धारमा अहोरात्र खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले आफ्नो पदभन्दा मानवीय सेवा र व्यावसायिक धर्मलाई सर्वोपरि राख्दै पार्टीलाई कडा चुनौती दिएका छन्।

उद्धार कार्यमा सक्रिय रहँदा पार्टीले उनलाई फिर्ता बोलाउन खोजेको वा आलोचनाका आधारमा कार्यक्षेत्र छाड्न दबाब दिएको विषयलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै न्यौपानेले भनेका छन्, “राजनीति होइन, ज्यान जोगाउन आएको हुँ, पार्टीले मलाई फिर्ता आउन भनेको निर्णय यदि सच्याएन भने म सांसद पदबाट राजीनामा दिन्छु।” सुरुङ निर्माणमा १३ वर्षको लामो अनुभव र १५ किलोमिटर सुरुङ खन्ने नेतृत्व गरिसकेका उनले आफू सांसदको रूपमा भन्दा पनि एक विज्ञ इन्जिनियरको रूपमा मानिसहरूको प्राण बचाउन घटनास्थलमा पुगेको स्पष्ट पारेका छन्।

उद्धार स्थलमा हेलिकप्टर चढेर गएको विषयमा भएको आलोचना र पार्टीको पछिल्लो कार्यशैलीप्रति लक्षित गर्दै न्यौपानेले आफ्नो अडान दोहोर्‍याएका छन्। उनले आफूले सांसद भएबापत पाउने कुनै पनि पारिश्रमिक वा सेवा–सुविधा नलिएको र सबै जनहितमै खर्च गरिरहेको जानकारी दिँदै थपे, “मैले सांसद भएर कुनै तलब भत्ता लिएको छैन, सबै तनहुँको एक जनैच्छिक कोषमा जम्मा गरेको छु। यहाँको जटिल परिस्थितिमा उद्धारको बाटो पहिल्याउन मात्र हेलिकप्टर प्रयोग गर्नुपरेको हो। म फर्कँदा हेलिकप्टर चढ्दिनँ, पैदलै हिँडेर काठमाडौँ जान्छु र यदि राज्यले खर्च खोज्छ भने हेलिकप्टरको पैसा समेत आफ्नै खल्तीबाट तिर्न तयार छु।” उनले आफूलाई पदको लोभ नरहेको र संकटका बेला विज्ञताको प्रयोग गरेर नागरिकको ज्यान जोगाउनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

न्यौपानेले आफ्नो नेतृत्वमा सुरुङको मुख खोल्न र भित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापित गर्न सफल भएको दाबी गर्दै प्राविधिक काममा राजनीतिक बाधा पुर्‍याउन नहुनेमा जोड दिएका छन्।

उनले काम गर्ने विज्ञलाई निरुत्साहित गर्न खोजिएकोमा दुःख व्यक्त गर्दै भनेका छन्, “मैले जे प्राविधिक सल्लाह दिएको थिएँ र जुन ढंगले काम अगाडि बढाइएको थियो, त्यसै अनुसार आज सफलता मिलेको छ। यस्तो संवेदनशील अवस्थामा काम गरिरहेको मान्छेलाई फिर्ता बोलाउने पार्टीको निर्णय मलाई स्वीकार्य छैन।” न्यौपानेको यो अडानले अहिले रास्वपाभित्र मात्र नभई समग्र राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ भने उनले आफ्नो व्यावसायिक जिम्मेवारीलाई पदभन्दा माथि राखेर एउटा बलियो नजिर पेश गरेका छन्।