प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले अझै पनि सांसद खरिद–बिक्रीको राजनीति नछाडेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले बागमती प्रदेश सरकार निर्माणका क्रममा एमालेले राप्रपाका सांसद खरिद गरेको दाबी गरे। ठूलो राजनीतिक परिवर्तनपछि पनि सांसद किनबेचको प्रवृत्ति दोहोरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
लिङ्देनले आफ्नै पार्टीका सांसदहरूको भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै अरूलाई मात्र दोष दिनुभन्दा पार्टीभित्रको कमजोरी पनि सुधार्नुपर्ने बताए। पार्टीको नाममा चुनाव जितेर गएपछि पार्टीको निर्णयविपरीत आफूखुसी अर्को दलसँग मिल्ने वा जाने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उनले चेतावनी दिए।
‘कुनै पनि सांसद व्यक्तिगत हुँदैन, ऊ पार्टीको प्रतिनिधि हो,’ लिङ्देनले भने, ‘आफूखुसी निर्णय गर्दै पार्टीविपरीत अन्य दलसँग जाने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’