logo
२०८३ आश्विन १०, शनिबार |
☰
📰
🔍
✕

भारी वर्षाले देशभर ११ राजमार्ग अवरुद्ध, विभिन्न स्थानमा पहिरो पन्छाउने काम जारी

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | ३८ मिनेट अघि
भारी वर्षाले देशभर ११ राजमार्ग अवरुद्ध, विभिन्न स्थानमा पहिरो पन्छाउने काम जारी

काठमाडौं / लगातारको भारी वर्षाका कारण बाढी तथा पहिरो जाँदा मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागले असोज ८ गतेदेखि परेको वर्षाका कारण सडक अवरुद्ध भएको जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला र फिस्लिङलगायत सडकखण्ड अवरुद्ध हुँदा राजधानी काठमाडौं आउने–जाने सवारीसाधन प्रभावित भएका छन्। जोखिमयुक्त स्थानमा रातिको समयमा तथा आवश्यकताअनुसार दिउँसोसमेत यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ।

कान्ति राजमार्गको चपली र तकुर्चेलगायत खण्ड पनि प्रभावित भएका छन् भने मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।

यसैगरी, सिद्धिचरण राजमार्गको ओखलढुंगा–सल्लेरीखण्ड, मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर, कालीगण्डकी करिडोरको जैमिनी–८ बेलबगर, बागलुङ–बेनी सडकखण्ड, तमोर करिडोर, राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरी पहिरो तथा लेदो पन्छाउने काम भइरहेको छ। केही स्थानमा लगातार पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा चुनौती देखिएको विभागले जनाएको छ।