प्रभातफेरी अनलाइन१९ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन तयारी, व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि समितिहरू गठन गरिएको हो।
सभापति गगनकुमार थापाको संयोजकत्वमा गठित केन्द्रीय निर्देशन समितिमा उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित केन्द्रीय सदस्यहरू सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा प्रताप पौडेललाई तोकिएको छ।
त्यस्तै, आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना–सञ्चार तथा प्रविधि समितिमा देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्रौला पन्तलाई जिम्मेवारी दिइएको छ।
महाधिवेशन समारोह स्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं जिल्ला सभापतिलाई, प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक तोकिएको छ।
यसैगरी भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका रहेको छ।