प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
काठमाडौँ / राष्ट्रियसभाका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाध्यक्षमार्फत माग गरेका हुन्।
सांसद खम्मबहादुर खातीले घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले जबरालाई नियन्त्रणमा लिएकोप्रति विरोध जनाउँदै गृहमन्त्रीले सदनमा यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको तथा सोधपुछपछि उनलाई घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे समेत सांसदहरूले सरकारसँग जानकारी माग गरेका छन्।
बैठकमा अन्य सांसदहरूले समेत विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे भने धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गरे।
त्यस्तै, मीना सिंह रखालले कर्णालीका जोखिमपूर्ण सडक तथा पुल निर्माणमा ध्यान दिन, रेखाकुमारी झाले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावितको सुरक्षित पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन, सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद् र हिमपातका कारण पर्यटकले भोग्नुपरेको समस्याको समाधान गर्न तथा सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीबाट धानबालीमा हुने क्षतिको उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे।