logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

एमालेले वडा र पालिका अधिवेशनको मिति तोक्यो, मङ्सिर २६ र पुस ४ मा हुने

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
एमालेले वडा र पालिका अधिवेशनको मिति तोक्यो, मङ्सिर २६ र पुस ४ मा हुने

काठमाडौं / नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै वडा र पालिका कमिटीका अधिवेशनको मिति तय गरेको छ।

पार्टीले आगामी मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो। एमालेका केन्द्रीय प्रचार प्रमुख निरज आचार्यका अनुसार अधिवेशनमार्फत वडा तथा पालिका तहमा नेतृत्व पुनर्गठन गर्ने, प्रदेश र जिल्ला तहका नेतृत्व तथा जनप्रतिनिधिलाई एकीकृत रूपमा परिचालन गर्ने र सङ्गठनलाई थप सक्रिय बनाउने लक्ष्य राखिएको छ।

पार्टीले राजनीतिक सन्देश जनतासम्म पुर्‍याउन प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। साथै, २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका घटनाको वास्तविकता, लोकतान्त्रिक प्रक्रियामा परेको असर, निर्वाचनको वातावरण, पार्टीमाथि लागेका आरोप र आफ्ना कमजोरीबारे पनि समीक्षा भइरहेको आचार्यले बताए।

एमालेले महँगी, बेरोजगारी, किसानले पाउने मूल्य, मजदुरका समस्या, साना उद्यमीमाथिको कर, विद्यार्थीको भविष्य, शिक्षकका समस्या, स्वास्थ्योपचार खर्च, महिला सुरक्षा, सुकुमवासीको आवास तथा प्रवासी नेपालीका समस्यालाई दैनिक राजनीतिक कार्यसूचीमा समेट्नुपर्नेमा जोड दिएको छ।

तीन दिनदेखि जारी एमाले स्थायी कमिटीको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यक्रम रहेको छ।