प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
बाजुरा / धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका माताको दर्शन गर्न पुगेका दुई जना पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। टोलीका तीन जना भने दर्शन गरेर फर्किसकेका छन्।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरबाट फर्किने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन भएका थिए। त्यसपछि साथीको खोजीमा रहेका सागर कार्कीसँग पनि शुक्रबार रातिदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सागरले फोन सम्पर्क हुँदा साथी हराएको र आफू त्रिवेणी पाटन क्षेत्रमा रहेको जानकारी दिएका थिए। उच्च क्षेत्रमा परेको भारी हिमपातका कारण उनीहरू अलपत्र परेको हुन सक्ने आशंका गरिएको छ।
दुवै जनाको मोबाइल फोन बन्द रहेको र खोजी तथा उद्धारका लागि मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन्।
लगातारको वर्षा र उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण उद्धार कार्यमा कठिनाइ हुन सक्ने प्रहरीले जनाएको छ।