प्रभातफेरी अनलाइन४२३२ पटक पढिएको | २०७७ आश्विन २७, मंगलबार
काठमाडौं/नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशित हुँदै आएको युगव्यथा साप्ताहिकका सम्वाददाता उत्तम प्रसाँई बेपत्ता भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गर्दै तत्काल बेपत्ता प्रसाईंको खोजबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
उक्त घटनाले महासंघलाई दुःखी बनाएको छ भन्दै महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, यही २०७७ असोज १८ गते आइतबार दिउँसो मैतिदेबी स्थित डेराबाट बेपत्ता भएका पत्रकार प्रसाई सोही दिन गजुरीस्थित सिसीटिभी फुटेजमा मोटरसाइकलबाट मुग्लिङतिर गएको देखिएको थियो भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन–नारायणगढ खण्डको ३ नम्बर पुल छेउ हेल्मेट, साँचो, मोटरसाइकल सडक छेउमै भेटिनुका साथै २० मिटर तल मोबाइल, चेकबुक लगायतका सामग्री सुरक्षित अवस्थामा भेटिएको थियो ।
महासंघले बेपत्ता भएका पत्रकार प्रसाईको यथाशीघ्र खोजी कार्य गर्न तथा घटनाको गहिरो र प्रभावकारी अनुसन्धान गरी सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग महासंघद्वारा आइतबार जारी विज्ञप्तिमा माग गरेको छ ।